Devdaha Tv | समाज
कार्तिक ६ २०७८ | 2021 Oct 23
Flash News

सामुदायिक वन सम्बन्धि अन्तरक्रिया सम्पन्न, वन व्यवस्थापनका लागि सबैको पहल आवश्यक

1 week ago
सामुदायिक-वन-सम्बन्धि-अन्तरक्रिया-सम्पन्न,-वन-व्यवस्थापनका-लागि-सबैको-पहल-आवश्यक

असोज २७, सुशील सापकोटा, देवदह । गाउँ वन समन्वय सञ्जाल रुपन्देहीको आयोजना तथा देवदह सव–डिभिजन वन कार्यालय देवदह, रुपन्देहीको समन्वय एवं व्यवस्थापनमा सामुदायिक वन सम्बन्धि अन्तरक्रिया, वनदेवी पूजा एवं शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । बुधबार देवदह सव–डिभिजन वन कार्यालय सितलनगर रुपन्देहीमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथ डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख बोधराज सुवेदीले बिदेशबाट काठ आयात हुने र देशका बनमा रहेका काठजन्य उत्पादनको व्यवस्थापन हुन नसक्दा काठ त्यसै खेर गएको परिप्रेक्षमा बैज्ञानिक वनको अवधारणले निकै महत्वपूर्ण काम गरेको बताउँदै बैज्ञानिक वन व्यवस्थापन दिगो वन व्यवस्थापनकै एक अंग भएको उल्लेख गर्नुभयो । वन पैदावार चोरी निकासी हुनुको पछाडि धेरैको मिलेमोतो हुने गरेको दाबी गर्दै सबैको स्वामीत्व र कडा कानुन हुँदाहुँदै पनि वनको सुरक्षा गर्न नसकिनु दुःखको कुरा रहेको बताउनुभयो । वनको उचित व्यवस्थापनका लागि बैज्ञानिक वन व्यवस्थापनका अभियान्ताहरु र सामुदायिक वनका पदाधिकारीहरु मिलेर अगाडि बढ्नुपर्ने उहाँको भनाई थियो । त्यस्तै कार्यक्रममा वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघका केन्द्रिय अध्यक्ष रेणु सेनले बैज्ञानिक वनको अवधारण, निति निर्माणको तहमा रहनेहरुले गरिरहेको लापरवाही साथै संस्थाको अभियानका बिषयमा स्पष्ट पार्नुभएको थियो । बैज्ञानिक वनको अवधारणा बोकेर अगाडि बढिरहदा धेरै ठाउँबाट दबाव आएपनि आफु निरन्तर लागिरहने र छिट्टै बैज्ञानिक वन व्यवस्थापनले साकार रुप पाउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा देवदह नगरपालिका कार्यपालिका सदस्य टेक बहादुर बि.क.ले देवदह क्षेत्रमा वन पैदावार चोरी निकासी बढिरहेको बताउँदै सम्बन्धित निकायले कडा नियमन गर्नुपर्ने बताउनुभयो ।  कार्यक्रममा कञ्चन सव–डिभिजन वन कार्यालयका प्रमुखले चाडवाडको समयमा वन पैदावार चोरी अझै बढ्ने हुँदा स्थानिय र अधिकारर्की निकायहरुले विशेष ख्याल राख्नुपर्ने बताउँदै सबैखाले वनहरुको उचित संरक्षणबाट नै पर्यावरण संरक्षण गर्न सकिने उल्लेख गर्नुभयो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै देवदह न.पा. वडा नं. ६ र ७ का वडा अध्यक्षहरु पदम थापा र दामोदर क्षेत्रीले वन नियमावली, नदिजन्य पदार्थ निकाशका लागि प्रदेशले बनाएको कार्यविधी नै बाझिएकाले समस्या भएको बताउँदै अविलम्ब त्यसको परिमार्जन गरि स्पष्ट कार्यविधी बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा देवदह सव–डिभिजन वन कार्यालयका प्रमुख चन्द्र बहादुर रानाभाटको स्वागत र बुद्ध सामुदायिक वनका अध्यक्ष तथा सञ्जालका सचिव टेक बहादुर रानाको सञ्चालन रहेको थियो ।