Devdaha Tv | राजनीति
कार्तिक ६ २०७८ | 2021 Oct 23
Flash News

लुम्बिनी प्रदेश सरकारले पूर्णता पायो 

1 week ago
लुम्बिनी-प्रदेश-सरकारले-पूर्णता-पायो-

असोज २४ । लुम्बिनी प्रदेश सरकारले गठन भएको दुई महिनापछि पूर्णता पाएको छ । वाम लोकतान्त्रिक गठवन्धनबाट मुख्यमन्त्री बनेका कुल प्रसाद केसीले मुख्यमन्त्री बनेको ६० औं दिनमा छ मन्त्री र चार राज्यमन्त्री थपेका हुन । अब लुम्बिनी प्रदेशमा १३ मन्त्री र ४ राज्यमन्त्री सहित मन्त्रीमण्डल १७ सदस्यीय बनेको छ ।  आइतबार नेपाली कांग्रेसबाट तीन मन्त्री र दुई राज्यमन्त्री, माओवादी केन्द्रबाट दुई मन्त्री र दुई राज्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीबाट एक मन्त्री थपिएपछि मन्त्रिपरिषदले पूर्णता पाएको हो । नेपाली कांग्रेसबाट वीरबहादुर राना ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, सुरेन्द्र हमाल वन वातावरण तथा भूसंरक्षण मन्त्री र वसिउद्दिन खाँ शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्री बनेका छन । त्यस्तै माओवादी केन्द्रबाट इन्द्रजित थारु स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री र तिलकराम शर्मा आन्तरिक मामिला तथा सञ्चारमन्त्री बनेका छन । एकीकृत समाजवादीबाट रमा आले कानून, महिला, बालिबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी छन । उनी प्रदेशसभामा एकीकृत समाजवादीकी एक्ली सांसद हुन । कांग्रेसबाट अर्जुनकुमार श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री र रिना नेपाल बिश्वकर्मा पर्यटन राज्यमन्त्री बनेकी छन । यसैगरी माओवादी केन्द्रबाट विमला खत्री वली स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री सुष्मा यादव कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था राज्यमन्त्री बनेकी छन । नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले आइतबार नै प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन । २८ साउनमा निुयक्त भएका मुख्यमन्त्री केसीले सोही दिन माओवादी केन्द्रका कृष्णध्वज खड्का, नेपाली कांग्रेसका डिल्ली चौधरी, जनता समाजवादी पार्टीका सहसराम यादव, सुमन शर्मा रायमाझी र पुर्मती ढेंगालाई र स्वतन्त्र सांसद अजय शाहीलाई मन्त्री बनाएका थिए । चौधरीले पर्यटन, ग्रामीण तथा शहरी विकास, खड्काले आर्थिक मामिला तथा योजना, यादवले भौतिक पूर्वाधार, रायमाझीले कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था, ढेंगाले श्रम, रोजगार तथा यातायात व्यवस्था र शाहीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालेका छन ।