Devdaha Tv | राजनीति
आश्विन १ २०७८ | 2021 Sep 17
Flash News

नेपाली काँग्रेसको नगरसभापतिमा दुई पाका उमेद्धारको दौड, युवा पुस्ताको मत निर्णायक 

4 days ago
नेपाली-काँग्रेसको-नगरसभापतिमा-दुई-पाका-उमेद्धारको-दौड,-युवा-पुस्ताको-मत-निर्णायक-

बन्धना काफ्ले भदौ २७ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको तयारी चलिरहेको सन्र्दभमा केन्द्र देखि स्थानिय तह सम्मको नेतृत्वमा कस्ले बाजि मार्ला भन्ने चर्चा परिचर्चा भइरहेको छ । यही सन्र्दभमा रुपन्देहीको देवदह नगर सभापति कस्को पोल्टामा पर्ला भन्ने बिषय काँग्रेसी कार्यकर्ता र अन्य राजनैतिक दलका कार्यकर्ताको पनि चासोको बिषय बनेको छ । नेपाली काँग्रेसको नगरमा पनि केन्द्रको दुई खेमा स्पष्ट देखिएको छ । केन्द्रमा सभापतिको आकाक्षीको संख्या वढ्ने क्रममा रहँदा देवदहमा भने सभापतिका लागि दुई जना आकाक्षी देखिएका छन । वर्तमान सभापति गुनाखर भुर्तेल र पूर्व शिक्षक झविन्द्र पाण्डे सभापतिको मैदानमा उत्रिएका छन । हरेक राजनैतिक दलको नेतृत्वमा युवाहरुको खोजि भइरेको अवस्थामा सभापतिको रेसमा ५० कटिसकेका पाका नेताहरु नै मैदानमा उत्रेका हुन । पाका नेताहरुले मैदान खालि नगरिदिए पछि काँग्रेस भित्रको युवा पुस्ता भने निराश छ । सभातिका उमेद्धार मध्ये भुर्तेल ५९ बर्ष र पाण्डेय ५६ बर्षका भए । उनिहरु लामो समय देखि काँगेस देवदहको कुनै न कुनै पदमा बसिनै रहेका छन । २०४९ सालमा क्रियाशिल सदस्य लिएका गुनाखर भुर्तेल नेपाली काँग्रेसको संस्थापन इतरका नेता हुन । भुर्तेल वर्तमान सभापति हुन । उनि १३ औँ महाधिवेशनबाट सभापतीमा निर्वाचित भएका थिए । लोकतन्त्रको रक्षाका लागि आफुले उमेद्धारी घोषणा गरेको भुर्तेलको दाबी छ । उनले जनताको हकहितमा काम गर्न, विकास निर्माणमा हुने वेथिति र भष्ट्रचार रोक्न, नेपाली काँगे्रसलाई विजयी गराउन, जनताको भावनाको कदर गर्दै हातेमालो गरेर काम गर्न सभापतिको उमेद्धारीको दिएको तर्क गरेका छन । ३० वर्ष शिक्षण गरेका झविन्द्र पाण्डे सेवानिवृत्त भए पछि राजनितिमा आउन लागेका हुन । पाण्डेयका विद्यार्थीहरु नै नेता भइसकेको सन्र्दभमा पाण्डे सभापतिको प्रतिस्पर्धामा उत्रेका छन । उनि काँग्रेस सभापति शेर बहादुर देउवा समुहका नेता हुन । पार्टीलाई सुदृढ बनाउदैँ नयाँ ढङ्गले काम गर्न, राष्ट्रियता, लोकतन्त्र र समाजवाद भन्ने नेपली काँग्रेसको सिद्धान्तलाई व्यवहारमा उतार्न , पार्टीमा सश्क्त ढङ्गले माथि उठ्न, समाज संग जोडिन र पार्टीलाई अगाडि बढाउन आफु सक्षम भएकाले उमेद्धारी घोषणा गरेका पाण्डेको दाबी छ । दुई उमेद्धार मध्ये भुर्तेल लामो समय देखि राजनितिमा छन । अधिकांश नेता कार्यकर्ताले चिन्ने भएका कारण मत आफ्नो पक्षमा आउनेमा उनि ढुक्क देखिन्छन । यस्तै पाण्डे शिक्षण पृष्ठभुमिको भएकाले शिक्षित बर्गको रोजाईमा आफु पर्ने र आफुले बाजि मार्नेमा विश्वस्त छन । उनलाई देवदह नगरप्रमुख हिरा बहादुर खत्रीको पनि आर्शिबाद छ । तर भुर्तेल काँग्रेस भित्र भिजेको अनुहार भएका कारण आर्शिबादले मात्रै चुनाव जित्न भने कठिन देखिन्छ । देवदह नगरपालिकामा बसाई सराई गरेर आउने आप्रबासीको संख्या ठुलो भएका कारण कुन समुहको बाहुल्यता छ यसै भन्न सकिने अवस्था भने छैन । नेताहरुले आ–आफ्नै तर्क प्रस्तुत गरेर जित्ने दाबी गरीरहँदा काँग्रेसी कार्यकर्ताहरुमा भने भरोसाको संञ्चार हुन सकेको छैन । काँग्रेस हुजुरबा पुस्ताले कब्जा गरेको प्रति असन्तुष्ट युवाहरुको समुह भने पर्ख र हेरको अवस्थामा बसिरहेको छ । युवा पुस्ताले जुन उमेद्धारलाई साथ दिन्छ उसैले काँग्रेस नगर सभापतिमा बाजि मार्ने निश्चित छ ।