Devdaha Tv | समाचार
श्रावण १० २०७८ | 2021 Jul 25
Flash News

रुपन्देहीमा थप एक साता निषेधाज्ञा थपियो

1 month ago
रुपन्देहीमा-थप-एक-साता-निषेधाज्ञा-थपियो

जेठ ३१ । रुपन्देहीमा थप एक साता निषेधाज्ञा थपिएको छ । सोमबार बसेको जिल्लास्तरिय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले असार ७ गते राती १२ बजे सम्मका लागि चौथो पटक निषेधाज्ञा थप गर्न सिफारिस गरेको थियो । जस अनुसार प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले केही खुकुलो हुनेगरी स्वरुप परिवर्तन गरेर निषेधाज्ञालाई निरन्तरता दिदैं आदेश जारी गरेका हुन । कोरोना संक्रमण दर घटे संगै निषेधाज्ञा केही खुकुलो बनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आदेश अनुसार होटल रेष्टुरेन्ट, पार्टी प्यालेस, सिनेमा हल, सेमिनार, तालिम गोष्ठी, सैलुन, मनोरञ्जन स्थल, डिपार्टमेन्टल स्टोर, सपिङ मल, ब्युटीपार्लर, स्वीमिङ पुल, संग्रहालय, जिमखाना, शिक्षण संस्था, प्रशिक्षण केन्द्रहरु, भाषा कक्षा, ट्युसन सेन्टर, निजी तथा सार्वजनिक सवारी चल्न पाउने छैनन । मंगलबार देखि लागु हुने नयाँ स्वरुपको निषेधाज्ञामा माछा मासु, तरकारी, फलफूल तथा दुधजन्य सामग्रीका पसल बिहान ५ बजे देखि बिहान ८ बजे सम्म र अन्य प्रकृतिका व्यवसाय भने बिहान ११ बजे देखि साँझ ४ बजे सम्म सञ्चालन गर्न दिने आदेश भएको छ । त्यस्तै विकास निर्माणको कामको निरन्तरता दिन बेलुका ६ बजे देखि विहान ३ बजे सम्म सवारी साधान चलाउने जनाइएको छ । त्यस्तै ‘नो मास्क, नो मुभमेन्ट’ अभियान सञ्चालन गर्ने र बजार अनुगमनलाई सघन बनाउने निर्णय गरिएको छ । आदेश उल्लंघन गर्ने, मुल्यवृद्धि गर्ने, कालोबजारी तथा जमाखोरी गरेको पाए कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारवाही गर्ने आदेशमा उल्लेख छ । अन्य आदेश भने यथावत जारी रहेको  प्रशासन कार्यालयले जनाएको छ ।