Devdaha Tv | समाचार
आषाढ ७ २०७८ | 2021 Jun 21

भैरहवा क्षेत्रका मुख्य सडकको डिभाइडरमा बुद्धमुर्ती राख्न थालियो

1 week ago
भैरहवा-क्षेत्रका-मुख्य-सडकको-डिभाइडरमा-बुद्धमुर्ती-राख्न-थालियो

जेठ २४ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) क्षेत्रका मुख्य सडकको डिभाइडरमा धमाधम बुद्धमूर्ति राख्ने काम भइरहेको छ । भैरहवाको बुद्ध चोक देखि निर्माणाधीन गौतमबुद्ध विमानस्थलको टर्मिनल भवन अगाडि सम्म मूर्ति राख्ने काम जारी छ । पहेंलो धातुले लेपन गरिएका मेटलका मूर्ति सडकको बीच भाग (डिभाइडर) मा ठडाउन सुरु छ । यसले नगरको सौन्दर्यता थप सुन्दर बनाउँदै लगेको छ । लुम्बिनी प्रदेश सकार पर्यटन मन्त्रालय अन्तर्गत पर्यटक डिभिजन कार्यालयले उपलब्ध गराएको ७५ लाख रुपैयाँबाट अहिले मूर्ति राख्ने काम भइरहेको हो । कार्यालयले बुद्धमूर्ति उपभोक्ता समिति गठन गरेर अहिले धमाधम मूर्ति राखिरहेको छ । उपभोक्ता समिति अध्यक्ष भरत कुमार पोखरेलले चालु आर्थिक वर्षभित्रै बुद्ध चोकदेखि गौतमबुद्ध विमानस्थलसम्म १९ वटा बुद्धमूर्ति राखिने जानकारी दिए । पोखरेलका अनुसार कोरोना महामारीले मूर्ति राख्न केही ढिलाइ भए पनि आबभित्रै सबै मूर्ति राख्ने गरी दु्रत गतिमा काम भएको छ । अहिले मूर्ति राख्नका लागि पिलर बनाउने काम अन्तिम चरणमा पुगेको छ । काठमाडौंको पाटनमा मूर्ति धमाधम तयार भइरहेका छन । ६ वटा मूर्ति भैरहवा ल्याएर जडानको काम जारी छ । अघिल्लो आर्थिक वर्षमा सिद्धार्थनगर नगरपालिकाले बुद्धमूर्ति व्यवस्थापन उपभोक्ता समिति गठन गरेर भैरहवाको अंचलपुरदेखि बेलहिया बाइपास सडकसम्म बुद्धमूर्ति राखेको थियो । उक्त समतिको पनि अध्यक्ष भएर पोखरेलले काम गरेका थिए । त्यसबेला नगरले ४६ लाख रुपैयाँ उपलब्ध गराएको थियो भने उपभोक्ता समितिले विभिन्न संघसंस्था र उद्योगी–व्यवसायीसँग सहकार्य गरी २५ लाख रुपैयाँ सहयोग उठाएर मूर्ति व्यवस्थापनको काम गरेको थियो । उक्त रकमबाट अघिल्लो वर्ष १९ वटा बुद्धमूर्ति सडक डिभाइडरमा राखिएको छ । सिद्धार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारीले नगरपालिकालाई बुद्धमय बनाउने अभियानअनुसार मूर्ति राख्ने काम भइरहेको जनाए । सहज अवस्थामा बेलहिया नाका हुँदै लाखौं विदेशी पर्यटक नेपाल भित्रिन्छन् । नाकाबाट आउने पर्यटकले पहिलो पाइल नगरमै टेक्ने भएकाले यहाँ बुद्ध चिनारीका कुनै वस्तु नहुँदा बुद्धभूमि आएकोसमेत थाहा पाउँदैनथे । अहिले बुद्धमूर्ति राखिए पछि पर्यटकले नाकामा आउँदावित्तिकै बुद्धभूमिमा आएको महसुस गर्न सक्ने अधिकारीले बताए । उपभोक्ता समिति अध्यक्ष पोखरेलले भैरहवालाई शान्ति र सुन्दर नगरी बनाउन चाहेको र सोहीअनुसार जनप्रतिनिधिसँग हातेमालो गरेर आफूहरुले काम गरिरहेको बताए ।