Devdaha Tv | समाचार
आषाढ ७ २०७८ | 2021 Jun 21

देवदह खोला काण्ड : बन कार्यालय र नगरपालिकाको जुहारी 

2 weeks ago
देवदह-खोला-काण्ड-:-बन-कार्यालय-र-नगरपालिकाको-जुहारी-

जेठ २४ । डिभिजन बन कार्यालय रुपन्देही र देवदह नगरपालिकाको स्वार्थ नमिल्दा नदिजन्य पदार्थ निकासीमा समस्या भएको छ । नदिजन्य पदार्थ उत्खननको बिषयलाई लिएर डिभिजनल बन कार्यालय र स्थानिय सरकार बिच जुहारी चलेको हो । डिभिजन बन कार्यालय रुपन्देहीले गत शुक्रबार सामुदायिक बन क्षेत्रमा नदिजन्य पदार्थ उत्खनन भइरहेको सुचना प्राप्त भएको भन्दै तत्काल नदिजन्य पदार्थको उत्खनन रोक्न नगरपालिकालाई पत्र लेखेको थियो । पत्रमा उत्खनन नरोके बन ऐन अनुसार कार्वाही गरीने उल्लेख गरीएको छ । बन कार्यालयको पत्र प्राप्त भएपछि प्रहरीले देवदह घोडाहा क्षेत्रमा नदिजन्य पदार्थ उत्खनन रोक्न खोजेको थियो तर बन कार्यालयको निर्देशन नमान्ने भन्दै देवदह नगरप्रमुख हिरा बहादुर खत्री, उपप्रमुख विद्यालक्ष्मी गुरुङ, वडा अध्यक्षहरु पदम थापा, दामोदर क्षेत्री, केशव भट्टराई र डण्डपाणी भट्टराई लगायत जनप्रतिनिधि, ठेकेदार र स्थानिय युवाहरुको टोली दल बल सहित खोला क्षेत्रमा पुगेका थिए । उनिहरुले प्रहरीको निर्देशन नमानेर नदिजन्य पदार्थको निकासी गरेपछि केही समय स्थिती तनावग्रस्त बनेको थियो । आफुहरुले सबै प्रक्रिया पुरा गरेर नियम अनुसार नै ठेक्का सम्झौता गरेको भन्दै बन कार्यालयले अनावश्यक झमेला सृजना गर्न खाजेको नगरप्रमुख हिरा बहादुर खत्रीकोको आरोप छ । बैसाख ५ गते देखि बन कार्यालय अगाडीबाटै नदिजन्य पदार्थ निकासी हुँदा बन कार्यालयले के हेरेर बसेको थियो भन्दै उनले प्रश्न गरे । स्थानिय सरकारलाई कमजोर पार्ने कुनियतले बन कार्यालयले नदिजन्य पदार्थ निकासी रोक्न खोजेको उपप्रमुख विद्यालक्ष्मी गुरुङको आरोप छ । प्रदेश सरकारले चिट्ठी पठाए मात्रै नदिजन्य पदार्थको निकासी रोक्ने अन्यथा बन कार्यालयको निर्देशन नमान्ने उनको भनाई छ । प्रहरीले नदिजन्य पदार्थको निकासी रोकेपछि देवदह नगरपालिका संग स्थानिय ठेकेदारहरुले आफुले तिरेको राजश्व फिर्ता गर्न माग गर्दै फिर्ता नगरे काम रोक्ने चेतावनी दिएका थिए । ठेकेदारहरुको तिव्र दवाव पछि मेयर उपमेयर ठेकेदारहरुलाई लिएर खोलामा पुगेका हुन । नदिजन्य पदार्थ निकासी हुन थालेको लामो समय केही नबोलेको डिभिजन बन कार्यालयले अन्तिम समयमा आएर निकासी रोक्न आदेश दिएपछि बन कार्यालय नै शंकाको घेरामा परेको छ । प्रहरीले नदिजन्य पदार्थको निकासी रोक्न खोलामा पुग्दा सव–डिभिजन बन कार्यालय शित्तलनगरका कर्मचारीको भने अत्तो पत्तो थिएन । बन कार्यालयको निर्देशनमा नदिजन्य पदार्थको निकासी रोक्न प्रहरी सक्रिय हुँदा बन कार्यालयका कर्मचारी नै गायब हुनुले पनि बन कार्यालयको नियतमा शंका गर्ने थप सुविधा प्रदान गरेको छ । देवदहमा नदिजन्य पदार्थको निकासीको बिषयलाई लिएर समय समयमा झमेला हुने गरेको छ । केही दिन अगाडी नियम विपरीत मापदण्ड भन्दा वढी नदिजन्य पदार्थको उत्खनन भएको समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित भएको थियो । देवदह नगरपालिकाले अनुगमन गरेको भए पनि स्थानियले भने मापदण्ड विपरीत नपदजन्य पदार्थ उत्खनन भएको भन्दै सामाजिक सञ्जालमा आक्रोस पोखेका छन ।