Devdaha Tv | खेलकुद
आषाढ ७ २०७८ | 2021 Jun 21

रुपन्देही सुपरलिगमा जीआरलाई सफलता

3 months ago
रुपन्देही-सुपरलिगमा-जीआरलाई-सफलता

फागुन १८। रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएको डिभिजन ‘ए’को खेलमा जीआर क्रिकेट क्लबले देवदह क्रिकेट युनिटलाई ७ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङमा आएकोे देवदहले निर्धारित ५० ओभरमा ३१ दशमलव ४ ओभरमा सबै विकेट गुमाई ११२ रनको योगफल बनायो । उसका लागि विक्की कार्कीले ३२, अर्जुन रायमाझीले २५ र शुभम ढकालले २० रन बनाए । बलिङमा जीआरका नितेश थापाले ८ ओभरमा ३३ रन खर्चेर ५ विकेट लिए । उनी म्यान अफ द म्याच समेत भए । यस्तै, सिद्धान्तराज शाहीले २ तथा धिरज शाही र शौरभ खनालले समान १–१ विकेट लिए । जवाफी ब्याटिङ गरेको जीआरले १९ दशमलव १ ओभरमा ३ विकेट क्षतिमा ११६ रन बनाउँदै जित निकाल्यो । उसको जितमा राजवीर सिंहले नटआउट ४३, संदीप सुनारले २२ र विशाल भुसालले नटआउट १९ रन बनाए । बलिङमा देवदहका दीपक श्रेष्ठ, अर्जुन रायमाझी र सुरज खड्काले समान १–१ विकेट लिए । बुधबार डिभिजन ‘ए’ का तिरुपति क्रिकेट क्लब र न्यू होराइजन क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाकारी दिनु भयो । प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, उदयीमान खेलाडी र म्यान अफ द फाइनललाई ५–५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन ।