Devdaha Tv | शिक्षा / प्रविधि
आश्विन १४ | 2022 Sep 30
Flash News

तलब दिन नसकेपछि रेसुंगा बहुमुखी  क्याम्पसमा आर्थिक संकटकाल घोषणा

1 month ago
तलब-दिन-नसकेपछि-रेसुंगा-बहुमुखी-क्याम्पसमा-आर्थिक-संकटकाल-घोषणा

भाद्र २ । गोकर्ण पाण्डे, गुल्मी । गुल्मीको रेसुंगा बहुमुखी क्याम्पसले अचम्मको निर्णय गरेको छ । मन्त्रीदेखि सांसद र ठूला नेताहरू भएको जिल्लाको सबैभन्दा पुरानो रेसुंगा बहुमुखी क्याम्पसले आर्थिक संकटकाल घोषणा गरेको छ । विसं २०३९ सालमा स्थापना भएको रेसुंगा क्याम्पस सबैभन्दा पुरानो शैक्षिक धरोहर हो । जसले व्यवस्थापनमा आर्थिक समस्या देखाएर आर्थिक संकटकाल घोषणा गरेको छ ।

सोमबार बसेको रेसुंगा बहुमुखी क्याम्पस सञ्चालक समितिको बैठकले आर्थिक अभावको कारण क्याम्पस सञ्चालन गर्न समस्या भएपछि आर्थिक संकटकाल घोषणा गरेको हो । क्याम्पसका प्रध्यापक तथा कर्मचारीहरूको आठ महिनाको पारिश्रमिक उपलब्ध गराउन नसकेपछि आर्थिक संकटकाल घोषणा गरिएको रेसुंगा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीले बताउनुभयो ।


सञ्चालक समितिको बैठकले आठ महिनाको पारिश्रमिक क्याम्पसले दिन नसक्ने भएकाले सहयोग गर्न प्रध्यापक तथा कर्मचारीलाई आग्रह गर्ने, विभाग र संकाय प्रमुखहरूको अतिरिक्त सुविधा स्थगित गर्ने र उपदान तथा उपचार खर्च संकटकाल अवधिभर स्थगित गर्ने निर्णय गरेको अध्यक्ष भलामीले जानकारी दिनुभयो । संचित विदा बस्न नपाउने, बिदा बसे पनि सुविधा नपाउने, त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सञ्चालन हुने परीक्षाको सुविधा सहयोग माग्ने निर्णय बैठकले गरेको छ ।

प्रमुखलाई प्रशासनिक काम उपप्रमुखहरूलाई राजीनामा दिन आग्रह

रेसुंगा बहुमुखी क्याम्पस सञ्चालक समिति बैठकले क्याम्पसको सबै प्रशासनिक काम क्याम्पस प्रमुखले गर्ने र सहायक क्याम्पस प्रमुखहरूलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गर्ने निर्णय गरेको छ। सेवाको उमेरहद परिमार्जन गर्ने र अध्ययनमा बेतलबी बस्नेहरूको उमेरहद घटाउने निर्णय पनि सञ्चालक समितिले गरेको छ । आर्थिक संकटकालपछि सुविधा कटौती र सहयोग माग्ने विषयमा गरिएका निर्णयहरू कार्यान्यवन गर्न क्याम्पस एवं कर्मचारीहरूसँग समन्वय गर्न सञ्चालक समिति उपाध्यक्ष धर्म विश्वकर्माको संयोजकत्वमा तीनसदस्यीय समितिसमेत गठन गरिएको छ ।