Devdaha Tv | स्थानीय
आश्विन १४ | 2022 Sep 30
Flash News

सोइया महिला स्वाबलम्बी संस्थाद्वारा आयोजित ३ दिने विद्यालय नेतृत्व बिकास तालिम सम्पन्न

1 month ago
सोइया-महिला-स्वाबलम्बी-संस्थाद्वारा-आयोजित-३-दिने-विद्यालय-नेतृत्व-बिकास-तालिम-सम्पन्न

श्रावण २६ । सोइया महिला स्वावलम्बी संस्था देवदहद्वारा आयोजित ३ दिने विद्यालय नेतृत्व बिकास तालिम सम्पन्न भएको छ । स्कुल लाइफ इन नेपालको पार्टनर कार्यक्रम तथा सिभिल सोसाइटी फन्टको गुणस्तरीय शिक्षा कार्यक्रम अन्तर्गत तालिम सञ्चालन गरिएको हो । तालिममा देवदहका १४ वटा विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा शिक्षक अभिभावाक संघ अध्यक्षहरु गरि ३५ जनालाई पोजेटिभ भाइब्रेसन नेपालका प्रितम पौडेलले सहजीकरण गर्नुभएको थियो ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी देवदह नगरपालिकाका शिक्षा अधिकारी टिकाराम शर्माले हरेक क्षेत्रको सुधारका लागि इच्छाशक्ति बलियो हुनुपर्ने उल्लेख गर्दै कतिपय अवस्थामा विद्यालय नेतृत्वहरुमा सामान्य खालका कार्यसम्पादनमा समेत कमजोरी देखिने गरेको उल्लेख गर्नुभयो । उहाँले देवदह नगरपालिकाका विद्यालयको हकमा एक, दुई छोडेर प्रत्येक विद्यालयमा वर्षेनि भवन तथा कक्षाकोठाहरु थप गरिएको उल्लेख गर्दै शैक्षिक गुणस्तर बिकासका सन्दर्भमा विद्यालयले अझै महत्वपूर्ण रुपमा काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । साँच्चिकै शैक्षिक सुधारका लागि अगाडि बढ्ने विद्यालय नेतृत्वले हरेक समस्याहरुको समाधानका लागि बाटो बनाउँदै हिड्न सक्ने दाबी गर्दै हरेकले उत्तरदायीत्व बोध गरेर अगाडि बढ्न सके गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा बोल्दै बुटवल बहुमुखी क्याम्पसका उप–प्राध्यापक प्रकाश शर्मा पौडेलले आफू संस्थाले आयोजना गरेका बिगतका शिक्षक तालिममा प्रशिक्षकको रुपमा सहभागी भएको स्मरण गर्दै विद्यालयको नेतृत्व बिकास सम्बन्धि तालिम र अघिल्ला शिक्षक तालिमबाट प्राप्त अनुभवहरुलाई व्यवहारमा लागू गरेर शैक्षिक उपलब्धिलाई गुणस्तरीय बनाउनुपर्ने बताउनुभयो । संसारका कैयौं देशहरुभन्दा नेपालको अवस्था राम्रो भएकाले पनि शैक्षिक सुधारका लागि प्रतिबद्ध भएर लाग्न सके गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने दाबी गर्नुभयो । उहाँले शिक्षा गुणस्तरीय हुँदै गर्दा व्यवहारिक समेत हुनुपर्ने भएकाले अब व्यवहारिक शिक्षातर्फ ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । शिक्षक पेशा सबैभन्दा सम्मानित र ठूलो पेशा भएपनि शिक्षकहरुभित्रै देखिने सहकार्यको अभावले गर्दा केही समस्या उत्पन्न भएको उल्लेख गर्दै शिक्षकहरु राजनीतिक रुपमा बढी क्रियाशील हुँदा शैक्षिक गुणस्तर आवश्यकता अनुरुप प्राप्त हुन नसकेको बताउनुभयो ।

कार्यक्रममा तालिमको अनुभवबारे बोल्दै सहभागी महामाया भवानी मा. वि. का अध्यक्ष छवि जि. सी. ले सोइयाले बिगतदेखी नै निकै उदाहरणीय शैक्षिक कार्यक्रमहरु सञ्चालन गरेको उल्लेख गर्दै तालिमबाट धेरै व्यवहारीक सीप प्राप्त भएको बताउनुभयो । उहाँले तालिमबाट प्राप्त सिपहरु तुरुन्त विद्यालयमा लागू गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । त्यस्तै अर्का सहभागी केरवानी मा. वि. का प्रधानाध्यापक दुर्गादत्त शर्माले छोटो अवधिको तालिम भएपनि धेरै महत्वपूर्ण ज्ञान प्राप्त भएको उल्लेख गर्दै तालिमले यस क्षेत्रका विद्यालयहरुको नेतृत्व बिकासको क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रम संस्थाका उपाध्यक्ष गोमा रोकाको अध्यक्षता र गुणस्तरीय शिक्षा कार्यक्रमका कोर्डिनेटर नारायण भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।