आषाढ २ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको अन्तिम खेलमा अमेरिकाले जित हासिल गरेको छ । टेक्ससमा रहेको मोसा क्रिकेट मैदानमा बिहीबार बिहान सकिएको खेलमा अमेरिकाले नेपाललाई ३९ रनले पराजित गरेकोे हो ।
अमेरिकाका अलि खान र सौरभ नेत्राभाल्करले ३–३ विकेट लिए भने नोस्थुश केन्जी र निसर्ग पटेलले एकरएक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४५ रन बनाएको थियो । अमेरिकाका लागि गजानन्द सिंह र सुशान्त मोदानीले अर्धशतकीय पारी खेले । सिंहले ५८ तथा मोदानीले ५४ रनको योगदान गरे ।
अमेरिकाले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै २ सय ६ रन मात्र बनाउन सक्यो । नेपालका आरिफ शेखले ६३ रनको अर्धशतकीय पारी खेले । त्यस्तै, नेपालका सोमपाल कामीले ४७, देव खनालले ३४, आसिफ शेख १८, रोहित पौडेल १६ र कुशल भुर्तेल १० रन जोडे । कप्तान सन्दीप लामिछाने शून्य रनमा आउट भए ।
नेपालका करण केसीले ३ विकेट लिए भने सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए । यसअघिको खेलमा नेपाल र अमेरिकाले बराबरी खेल्दै अङ्क बाँडेका थिए । नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो ।