Devdaha Tv | समाज
आषाढ १३ | 2022 Jun 27

देवदह तालको संरक्षण र विकासका लागि गुरुयोजना तयार गरेर काम गरिने

1 month ago
देवदह-तालको-संरक्षण-र-विकासका-लागि-गुरुयोजना-तयार-गरेर-काम-गरिने

जेठ १२ । नवलपरासीको सुनवल नगरपालिका–७ तरगौलीमा रहेको देवदह तालको संरक्षण र विकासका लागि गुरुयोजना तयार गरेर काम गरिने भएको छ । नवनिर्वाचित वडा अध्यक्ष नारायण आचार्यको पहलमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धीचरण भट्टराई लगायतको टोलीले बुधबार ताल क्षेत्रको अवलोकन गर्दै गुरूयोजना बनाएर काम गर्नुपर्नेमा जोड दिएको हो । अवलोकन पछि वडा अध्यक्ष आचार्य लगायत ताल संरक्षण समितिका पदाधिकारी र स्थानीय आमा समूहका प्रतिनिधिसंग कुरा गर्दै कोषाध्यक्ष भट्टराईले गुरूयोजना तयार गरेर अगाडि बढे आर्थिक व्यवस्थापन सहज हुने बताउनुभयो । छलफलमा सहभागी हुँदै भट्टराईले जग्गा संरक्षण गर्ने, ऐतिहासिक डकुमेन्टसहरूको खोजी गर्ने र ताल क्षेत्रको समग्र विकासको गुरूयोजना बनाउँने काम गर्न सुझाव दिनुभयो । 

सोही छलफलमा बोल्दै नवनिर्वाचित वडाध्यक्ष नारायण आचार्यले सबैखाले काममा वडा कार्यालयले समन्वय गर्ने र बिस्तृत योजना बनाएर तालको ऐतिहासिकता पुष्टि गर्दै संरक्षण र विकासको लागि आफुले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफूले गर्नुपर्ने सबै काम आपैm गर्ने र त्यसका लागि लुम्बिनी विकास कोषको सहयोग आवश्यक रहेको पनि बताउनुभयो  । अहिलेसम्म यो तालको गहिराइ कति छ भन्ने कसैलाई थाहा छैन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवल नगरपालिकाको ज्यामिरेबाट चार किलोमिटर दक्षिण तर्गाैलीमा रहेको यो ताल क्षेत्रमा ऐतिहासिक साम्यमाई मन्दिर, बौद्ध गुम्बा सहितको हरियाली र रमणीय वातावरण रहेको छ । 

कोलीय गणराज्यभित्र पर्ने देवदह ताल तरगौलीमा गौतमबुद्धकी आमा मायादेवीले स्नान गरेको तथा सो क्षेत्रमा मायादेवीकी माइली बैनी साम्यमाईको परिवार बसोवास गर्ने सुन्दर राजमहल रहेको बुद्धस्य जीवनमा वृत्तान्तु नामक ग्रन्थमा उल्लेख भएको पाइन्छ । वास्तविक देवदह ताल यही तरगौली भए पनि ओझेलमा पर्दै गएको ऐतिहासिक देवदह ताल संरक्षण समितिका कोषाध्यक्ष राम बहादुर महत बताउनुभयो । महतका अनुसार विकासको लागि स्थानीय सरकारको बजेटले मात्र प्रयाप्त नभएकोले प्रदेश र केन्द्र सरकारबाट पनि बजेट निकास हुन सके यहाँको मुहार फेरिन सने उल्लेख गर्नुभयो । कहिलेकाहीँ दहको बीचमा सुनको नथुनी लगाएको माछा देखिने तर पछि उक्त माछा लोप भएको तथा ती माछा खान पनि नहुने विश्वास रहेको स्थानिय पुजारी कुल प्रसाद कठरियाले बताउनुभयो । 

तरगौलीमा रहेको देवदह तालको संरक्षण र विकास गरी कुशल व्यवस्थापन गर्न सकेमा यस ठाउँको महत्व एवं सामाजिक, आर्थिकस्तरलाई माथि उठाउन सकिने सम्भावना रहेको स्थानीयवासी राजु केसीले बताउनुभयो । दहलाइ पर्यटकीय हिसाबले विकास गर्न सक्ने हो भने वडा बासिहरूको जीवन स्तर उकास्न दहले महत्त्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभएको छ ।