Devdaha Tv | स्थानीय/निर्वाचन विशेष
जेठ १४ | 2022 May 28

उद्योगी–व्यवसायीको संरक्षण गर्न एकीकृत समाजवादीलाई जिताऔं : कुलेन्द पुन

3 weeks ago
उद्योगी–व्यवसायीको-संरक्षण-गर्न-एकीकृत-समाजवादीलाई-जिताऔं-:-कुलेन्द-पुन

बैशाख २२ । प्रकाश न्यौपाने, भैरहवा । नेकपा एकीकृत समाजवादी सिद्धार्थनगर नगरपालिकाका मेयर पदका उम्मेदवार कुलेन्द्र पुनले उद्योगी–व्यवसायीको संरक्षण गर्न आफ्नो जित अपरिहार्य भएको बताउनु भएको छ । बिहीबार सिद्धार्थनगर–७ को घरदैलोका क्रममा पुनले व्यवसायी सुरक्षित नहुँदासम्म मुलुकको अर्थतन्त्र बलियो नहुने बताउनुभयो ।
पुनले व्यवसायीलाई चौबीसै घण्टा व्यवसाय खोल्ने वातावरण बनाउनुपर्ने, अनावश्यक करको भार थोपार्न नहुने र लगानीको ग्यारेन्टी राज्यले गर्नुपर्ने औल्याउनुभयो । ‘तीन–चार थरि कर लगाउने तर सुरक्षा नदिने अवस्थामा निजी क्षेत्र बलियो हुन नसक्ने भन्दै व्यवसायी र उनीहरुको व्यवसाय फस्ट्याए मात्रै मुलुक बलियो हुने उल्लेख गर्नुभयो । 
राम्रोसँग उद्योग–व्यवसाय चलेमा कसैले नभनी  व्यवसायीले आफै दायित्व सम्झेर कर तिर्ने बताउँदै सरकारले सो म्बिन्धी वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । पुनले आफू निर्वाचित भएमा नगर भित्रका व्यवसायीको संरक्षण गर्ने, छुट सुविधाहरु दिने, करको दर नबढाई दायरा बढाउने बताउनुभएको थियो । 
उहाँले उद्योग–व्यवसाय रहेको ठाउँमा विद्युत, सहज सडक मार्ग, दक्ष मजदुर उपलब्ध गराउन आफूले पहल गर्ने बताउनुभयो । सबै पूर्वाधार उपलब्ध गराएर नगर क्षेत्रको व्यवसाय विस्तारमा टेवा पुर्याउने आफ्नो उद्देश्य रहेको प्रष्ट पार्दै उद्योगीलाई चाहिने दक्ष कामदारका लागि सीपमूलक तालिमहरु संचालन गर्ने र उनीहरुलाई रोजगार दिने आफ्नो योजना रहेको पुनले बताउनुभयो ।
‘नगरभित्र रहेका युवाहरुलाई तालिम दिएर दक्ष बनाएर उद्योगहरुमा रोजगारी दिने नीति बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।