बैशाख ७ । बुटवलमा दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बुधबार सुरु भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा देवीनगरस्थित नव–दिलिप कभर्ड हलमा चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा पाँच वटा विधामा ९२ टिमले प्रतिस्पर्धा गर्दैछन । प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गर्नुभएको छ ।
प्रतियोगिता अन्तर्गत मेन्स सिंगलमा २५, मेन्स डबल्समा २६, भेट्रान्स ४५ वर्ष माथिमा २२, सुपर भेट्रान्स ५५ वर्ष माथिमा ९ र महिला सिंगलमा १० टिम गरी ९२ टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक शम्भु भट्टराईले बताउनुभयो । प्रतियोगितामा विश्व वरियताका प्रिन्स दाहाल, राष्ट्रिय प्रतियोगिताका एक नम्बर वरियताका दीपेश धामी लगायतका उत्कृष्ट खेलाडीहरुको सहभागिता रहेको छ । पाँच विधामा काठमाडौं बाहिर ठूलो पुरस्कार राशीको प्रतियोगिता पहिलो भएको क्लबका अध्यक्ष गोपाल टण्डनले बताउनुभएको छ ।
प्रतियोगितामा मेन्स सिंगल र मेन्स डबल्सतर्फ विजेताले ५० हजार रुपैयाँ, उपविजेताले ३० र तेस्रोले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन । भेट्रान्स ४५ वर्ष माथि उमेर समूह र महिला सिङ्गलमा विजेताले ३० हजार रुपैयाँ, उपविजेताले २० हजार र तेस्रोले १० हजार रुपैयाँ तथा ५५ वर्षमाथि उमेर समुहको पहिलोलाई २० हजार रुपैयाँ, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार रुपैयाँ नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।