Devdaha Tv | समाचार
जेठ १४ | 2022 May 28

श्री शिवालय सामूदायिक वन देवदह रुपन्देहीको १९ औँ वार्षिक साधारण सम्पन्न

4 months ago
श्री-शिवालय-सामूदायिक-वन-देवदह-रुपन्देहीको-१९-औँ-वार्षिक-साधारण-सम्पन्न

माघ ३ । श्री शिवालय सामूदायिक वन उपभोक्ता समूह देवदह ५, ६ र ७ रुपन्देहीको १९ औँ वार्षिक साधारण सम्पन्न भएको छ । सोमबार समूहको कार्यालय परिसरमा आयोजित कार्यक्रमको बिरुवा रोपेर उद्घाटन गर्दै प्रमुख अतिथि देवदह नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दामोदर क्षेत्रीले सामूदायिक वनको संरक्षण र बिकासमा आँफु सदैव अगाडि बढिरहने बताउनुभयो । समूहका पुर्व अध्यक्ष तथा वरिष्ठ सल्लाहकार समेत रहनुभएका क्षेत्रीले वनको संरक्षण, संवद्र्धन र विकास आजको अपरिहार्य आवश्यकता रहेको उल्लेख गर्दै आफ्नो क्षमताले भ्याएसम्म वनको पक्षमा काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै समूहका अध्यक्ष खेमनारायण अधिकारीले आर्थिक वर्ष २०७७/०७८ मा समूहले डिभिजन वन कार्यालयको अनुदानबाट खण्ड नं. २ को अतिक्रमण क्षेत्रमा ५०० मिटर तार जालि लगाउने कार्य सम्पन्न गरेको जानकारी दिनुभयो । त्यस्तै जैविक विविधता पार्कमा डिप बोरिङ्गद्धारा पानीको व्यवस्था भएको, सोहि पार्क क्षेत्रमा बिद्युत पोल तथा तारको व्यवस्थापन गरिएको तथा देवदह नगरपालिकाको जोखिम कोषबाट प्राप्त १० लाख रुपैयाबाट घोडाहा खोला नियण्त्रणका लागि तटबन्धको कार्य सम्पन्न गरिएको समेत जानकारी दिनुभयो । अध्यक्ष अधिकारीले आगामी वर्षमा वनको संवद्र्धन, संरक्षण र बिकासका लागि वनलाई चरिचरनबाट जोगाउन विशेष चरन क्षेत्रको व्यवस्थापन गर्ने, नयाँ उपभोक्ता बिस्तार गर्ने तथा वन डढेलोबाट जोगाउन अग्नीदस्ता भर्ना गर्ने योजना रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै सल्लाहकार संयोजक बासुदेव रिमालले उपभोक्ताहरुमा रहेको दृढ इच्छाशक्ति र निरन्तर सक्रियताले वनलाई नमुना वनको रुपमा विकास गर्न सकिने प्रवल सम्भावना रहेको दाबी गर्नुभयो । शिवशक्ति कवुलियत वनका सचिव विन्दु शर्माले सामुदायिक वनबाट प्राप्त वन क्षेत्रमा बेसार, फलफुल तथा जडिबुटी लगायतको उत्पादनद्धारा आयआर्जनमा जोडिने लक्ष्य लिएर आँप, खयर, बेलौती, बाँस तथा अम्रिसो लगायतका खेती गरिएको भएपनि सुख्खा र ढुङ्गे भौगोलिक अवस्थाका कारण सोँचे अनुसारको उपलब्धि हासील गर्न नसकिएको जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै उपभोक्ता धनलाल सुवेदीले अहिलेको अवस्थामा वनको संरक्षणमा लाग्नु भनेको समग्र संसारभरका मानव र पृथ्वीकै संरक्षण गर्नु भएको बताउँदै पछिल्लो समय देखिएको हरित गृह नाश हुने अवस्था तथा पृथ्वीको बढ्दो तापक्रमलाई मध्यनजर गर्दै वनको संरक्षण गर्नु अपरिहार्य रहेको उल्लेख गर्नुभयो । शिवनगर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नारायण बहादुर घिमिरेले सरकारले बैज्ञानिक वन व्यवस्थापन २०७१ खारेज गरेसँगै सामूदायिक वनहरु समस्यामा परेको गुनासो गर्नुभयो । उहाँले बैज्ञानिक वन अवधारणमा लगाइएको रोकसँगै नियमित रुपमा वनको संरक्षण तथा संवद्र्धनका लागि गर्नुपर्ने कार्यहरुमा समेत रोक लगाउनु आपत्तीजनक भएको दाबी गर्नुभयो । कार्यक्रममा गाउँ वन समन्वय समितिका उपाध्यक्ष तेज बहादुर कुँवर, सव डिभिजन वन कार्यालय देवदहका प्रमुख चन्द्र बहादुर भाट, नेपाल रेडक्रस सोसाइटी देवदह उपशाखाका अध्यक्ष कृष्ण प्रसाद न्यौपाने, वडा नं. ६ का वडा सदस्य यमुना पौडेल लगायतले बोल्दै वन संरक्षणका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । उपाध्यक्ष यम कुमारी भुषालको स्वागत रहेको कार्यक्रमका सञ्चालक तथा संस्थाका सचिव रामचन्द्र पौडेलले वन संरक्षण सँगै देवदहको शित्तलनगर, खैरेनी, घोडाहा तथा समग्र बस्तीको संरक्षणका लागि घोडाहा खोलामा तटबन्ध गर्नुपर्ने अवस्था निकै महत्वपूर्ण रहेको उललेख गर्दै सो कार्यका लागि सबैलाई गम्भिर हुन अनुरोध गर्दै पत्रकारहरुलाई विशेष सन्देश प्रवाह गर्न आग्रह गनुभयो ।