Devdaha Tv | समाचार
जेठ १४ | 2022 May 28

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लामो श्रीस्वस्थानी व्रत आजदेखि सुरु

4 months ago
पौष-शुक्ल-पूर्णिमादेखि-माघ-शुक्ल-पूर्णिमासम्म-एक-महिना-लामो-श्रीस्वस्थानी-व्रत-आजदेखि-सुरु

माघ ३ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लामो श्रीस्वस्थानी व्रत आजदेखि सुरु भएको छ । पौष शुक्ल चतुर्दशीका दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर श्रीस्वस्थानी व्रत र माघ स्नानको सुरुवात गरिन्छ । बिहानमा नित्य स्नान गरी सुची भई मध्यान्हकालमा महादेवको पूजाआजा गर्ने गरिन्छ भने साँझमा श्रीस्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाउँ भनी विष्णुको निर्देशन अनुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । यस अवधिमा रातमा जाग्राम बसेर देवी माहात्म्य सुन्ने सुनाउने गरिन्छ । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थानी अर्थात आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास छ । सुवर्ण वर्ण भएकी, त्रि–नेत्र भएकी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी, देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा वर्णन गरिएको छ । यस्ती देवीको विधिपूर्वक ब्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुने, रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रत विधिअनुसार गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देशको राजा भएको कथा स्वस्थानीमा वर्णन गरिएको छ ।