मंसिर १३ । मोरङमा कुटपिट गरी छोराको हत्या गरेको आरोपमा प्रहरीले आमा र बहिनीलाई पक्राउ गरेको छ। कटहरी गाउँपालिका वडा नम्बर ५ बस्ने ४० वर्षीय राजेन्द्र उराउको आइतबार राति सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो। उराउको उपचारको क्रममा नोवल अस्पताल विराटनगरमा मृत्यु भएको हो। हत्या आरोपमा ५५ वर्षीया आमा बातियो उराउ र ३० वर्षीय बहिनी रिता पक्राउ परेका छन्। शनिबार राति राजेन्द्रले मादक पदार्थ सेवन गरी आफ्नी आमा र बहिनीसँग झगडा गरेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो। विवादको क्रममा आमा र बहिनीले बाँसको लाठीले राजेन्द्रको टाउकोमा प्रहार गरेको र टाउकोमा प्रहारपछि घाइते भएका राजेन्द्रको उपचारको लागि नोवल अस्पताल पुर्याइएको थियो। उपचारको क्रममा मृत्यु भएको र घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।