Devdaha Tv | समाज
कार्तिक ६ २०७८ | 2021 Oct 23
Flash News

देवदह व्यापार संघको शुभकामना आदान–प्रदान/चाडवाड मर्यादित रुपमा मनाउनुपर्नेमा जोड

1 week ago
देवदह-व्यापार-संघको-शुभकामना-आदान–प्रदान/चाडवाड-मर्यादित-रुपमा-मनाउनुपर्नेमा-जोड

सुशील सापकोटा, देवदह असोज २६, रुपन्देहीको देवदहमा रहेको देवदह व्यापार संघले विजयादशमी, शुभ दिपावली, छठ पर्व तथा ल्होसार २०७८ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार संस्थाको देवदह स्थित कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य डा. कृष्ण न्यौपानेले शुभकामना मन्तव्य राख्दै सभ्यताको विकाससँगै संस्कृति र परम्पराहरु परिवर्तित हुँदै जानु स्वभाविक भएपनि पछिल्लो समयमा देखिएको चाडवाडको तडकभडकले विकृति निम्त्याउने बताउनुभयो । साथै उहाँले परम्परालाई जोगाउँदै परम्परा र संस्कृतिभित्र रहेका गलत प्रवृत्ति हटाउने र बैज्ञानिक पक्षलाई पहिचान गरि अगाडि बढाउनुपर्ने बताउनुभयो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै देवदहको अर्को व्यापारिक संस्था उद्योग व्यापार संघ देवदहका अध्यक्ष मेघराज ढकालले चाडपर्वको बेला व्यवसायीहरु तथा स्थानिय सरकाले विशेष भूमिका खेल्नुपर्ने बताउनुभयो । त्यस्तै देवदह नगरपालिका कार्यपालिका सदस्य विष्णु पाण्डेले चाडावाडमा देखिएको सांस्कृतिक अपचलन हटाउनुपर्ने बताउनुभयो । संस्थाका सल्लाहकार टिकाराम चापागाईंले नेपाली समाज उत्पादन र हैसियत बिनाको तडकभडकमा लागिरहेको वर्तमान अवस्था प्रति चिन्ता व्यक्त गर्दै जनप्रतिनिधी तथा सरकारले उत्पादनको दिशामा काम गर्नुपर्नेमा जोड दिनुभयो । दशैं आयो, खाउँला पिउँला, कहाँ पाउँला, चोरी ल्याउँला भन्ने लोक गीतको दृष्टान्त दिँदै देवदह प्रहरी चौकीका प्रमुख प्रहरी निरिक्षक गंगा बहादुर सारुले चाडवाडको समयमा आपराधिक गतिविधी बढि हुने भएकाले सतर्क रहनुपर्ने बताउनुभयो । त्यस्तै उहाँले चाडवाडको समयमा मदिरा सेवन गरेर सवारी साधन चलाउने, ट्राफिक नियम पालना नगर्नाले निकै सडक दुर्घटना हुने भएकाले संयमित भई चाडपर्व मनाउन आग्रह गर्नुभयो । कार्यक्रममा शुभकामना मन्तव्य तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै संस्थाका अध्यक्ष कोष बहादुर गुरुङ्गले संस्थाको भवन निर्माण तथा बिद्युत जडानको समस्याबारे जानकारी गराउनुभएको थियो । रा.प्र.पा. देवदवह अध्यक्ष माधव रिमालले चाडवाडलाई व्यवस्थीत र मर्यादित ढंगले मनाउनुपर्ने बताउनुभयो । बिभिन्न राजनीतिक दलका प्रतिनिधि, व्यापारी तथा व्यवसायीहरुको उपस्थिती रहेको कार्यत्रममा धन्यवाद ज्ञापन गर्दै संस्थाका सचिवालय सदस्य तथा प्याव्सन देवदह अध्यक्ष राम बहादुर गुरुङ्गले चाडपर्व मनाउँदा तडकभडक भन्दा पनि यथासक्य र संयमित भई मनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रम संघका प्रथम उपाध्यक्ष माधव ढकालको स्वागत र महासचिव पिताम्बर खरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।