Devdaha Tv | समाचार
आश्विन १ २०७८ | 2021 Sep 17
Flash News

संखुवासभा सामूहिक हत्या प्रकरणः नातामा नाति पर्ने आरोपित पक्राउ

4 days ago
संखुवासभा-सामूहिक-हत्या-प्रकरणः-नातामा-नाति-पर्ने-आरोपित-पक्राउ

भदौ २७ । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ स्थित खोलागाउँमा भएको सामुहिक हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बौदमान कार्कीको परिवारका ६ जनाको सामुहिक हत्या भएको थियो । सो घटनामा संलग्न भएको आशंकामा नाति नाता पर्ने एकजनालाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।  संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले घटनाको अनुसन्धान भइरहेको र प्रारम्भिक अनुसन्धानप छि एक जनालाई पक्राउ गरिएको बताए । प्रहरी स्रोतले भने सामुहिक हत्यामा संलग्न भएको आरोपमा बौदमानका जेठा दाजुका नाति २५ वर्षीय लोकबहादुर कार्कीलाई शनिबार बिहान पक्राउ गरिएको बताएको छ । प्रहरीले अन्य २–३ जनालाई समेत पक्राउ गरेको छ । पक्राउ परेका अन्य सहयोगी भएको प्रहरीको आशंका छ । त्यसैले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार घटनास्थल र लोकबहादुरको घर करिब डेढ सय मिटरको दूरीमा छ । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), प्रदेश १ प्रहरी कार्यालय विराटनगर, संघीय एकाइ प्रहरी कार्यालय धरान सहित संखुवासभा प्रहरी टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । पक्राउ परेका व्यक्तिको कपडामा रगत लागेको भेटिएको स्रोतले बतायो। रगत लागेको कपडा परीक्षणका लागि प्रहरीले विधि विज्ञान प्रयोगशालामा पठाएको छ । हत्यामा प्रयोग गरिएको रडसमेत फेलापरेको प्रहरीको भनाइ छ । त्यही रडले पछाडिबाट टाउकोमा प्रहार गरेर सबैको हत्या गरेको प्रहरी स्रोतले जनाएको छ ।