Devdaha Tv | राजनीति
माघ ५ २०७७   | 
devdahaTv-info

जवाफदेहितासहितको प्रतिपक्ष हुनुपर्छ : मन्त्री गिरी

  • 3 weeks ago

पुस १२ । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले संसदीय व्यवस्था लोकतन्त्रको सुन्दर पक्ष रहेको बताउदै यसको खवरदारीका लागि जावफदेहितासहितको प्रतिपक्ष आवश्यक हुने बताउनुभएको छ । मुलुकमा बिरोधका लागि बिरोध गर्ने प्रवृत्ति मौलाएको भन्दै यसले सही निकास दिन नसक्ने उहाँले बताउनुभयो । निर्वाचन पर्यवेक्षण समिति काठमाण्डौंको आयोजना र दैनिक लुम्बिनीको सहकार्यमा सोमबार बुटवलमा भएको लोकतन्त्र शसक्तिकरणका लागि संसदीय शासन प्रणाली र प्रतिपक्षको भूमिका विषयक अन्र्तक्रियामा बोल्दै मन्त्री गिरीले जो सुकै प्रतिपक्ष भएपछि पुरानो प्रबृतिमा सुधार गर्नुपर्ने बताउनुभएको हो । सत्ता निरंकुश हुने डर रहिरहने भएकै कारण संसदीय व्यवस्थामा प्रतिपक्षको कल्पना गरिएको उहाँले बताउनुभयो । तर त्यो प्रतिपक्ष विरोधका लागि बिरोध गर्ने मात्रै नभई विकल्पसहितका सुझाव दिने हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, ‘सत्ताले ल्याएका योजनामा असहमति हुँदा प्रतिपक्षले विकल्पसहित आउनुपर्छ, तवमात्रै नीति कार्यान्वयनमा सकारात्मक परिणाम आउछ, तर हाम्रो मुलुकमा त्यसो हुन सकिरहेको छैन ।’ आफ्नै सत्ताको विरोध गरेर सरकार गिराउने घिनलाग्दो प्रवृति देखिनु गलत रहेको बताउदै यस्ता प्रवृत्तिको अन्त्य हुनुपर्ने र संसदीय व्यवस्थामा अस्थिरता वा निरंकुशता हुन लागे जनतामा मत लिन जानुको विकल्प नभएको उहाँको भनाई छ । त्यस्तै लुम्बिनी प्रदेशसभाको संसदीय समितिका सभापति दधिराम न्यौपानेले सत्ता पक्ष र प्रतिपक्षमा लोकतान्त्रिक सचेतनाको जरुरी रहेको बताउनुभयो । जो सुकै नेता सत्तामा गएपनि सामान्तवाद प्रवृत्ति देखाउने गरेको प्रसंग उल्येख गर्दै उहाँले अब हरेकको चित्तबाट नै सामान्तवाद हटाउनुपर्ने भन्दै, ‘मान्छे मन्त्री हुनासाथ सर्वसत्ताबादको हाबी हुने रहेछ, यसको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

सरकारले गर्ने गलत प्रक्रियाको विरोध प्रतिपक्षले गर्नुपर्ने र सकारात्मक काममा सहयोग समेत गर्नुपर्ने उहाँको भनाई छ । कांग्रेसकी सांसद रमा अर्यालले सत्तामा बस्नासाथ राजाप्रवृत्ति हावी देखिनु नै गलत भएको जिकिर गर्दै प्रतिपक्ष कमजोर हुदा सत्ता निरंकुश हुने गरेको बताउनुभयो । उहाँले अहिलेको संकट पनि सोही प्रबृतिका कारण भएको दाबी गर्नुभयो । कांग्रेसका महासमिति सदस्य युवराज गिरीले शासन व्यवस्था प्रति इमान्दार भए समस्या समाधान हुनेमा जोड दिँदै वर्तमान अवस्थामा सत्तारुढ दलले नै प्रतिपक्षको अधिकार खोसेको बताउनुभयो । उहाँले संविधानमा प्रधानमन्त्रीय प्रणालीलाई संकुचन गरेको अनुभूति भएको बताउनुभयो । मानवअधिकार तथा शान्ति समाजका बरिष्ठ उपाध्यक्ष गोविन्द खनालले सत्ता र प्रतिपक्ष दुवै आफ्नो जिम्मेवारीबाट चुक्दा लोकतन्त्रको चिरहरण भइरहेको बताउनुभयो । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य मनिकर कार्कीले जनप्रतिनिधिमा लोकतन्त्रण प्रतिको आस्था कमजोर रहेको उल्लेख गर्दै व्यवस्था प्रति नै अविश्वास गर्ने दलहरु लोकतान्त्रिक हुन नसकेको बताउनुभयो । राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय प्रमुख सम्झना शर्माले सरकारले मानव अधिकार संरक्षणको जिम्मेवारी पुरा गर्नुपर्ने बताउंँदै यसमा प्रतिपक्षको समन्वय हुनुपर्ने औँल्याउनुभयो । राष्ट्रिय जनमोर्चाका रुपन्देही सल्लाहकार पदम श्रेष्ठले सत्ता र विपक्षीहरुमा नैतिकता र इमान्दारिताको अभाव देखिएको जिकिर गर्नुभयो । पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले वर्तमान समयमा मिडिया बाहेक अरु कोही प्रतिपक्ष नदेखिएको बताउँदै प्रतिपक्ष स्वार्थमा सत्तासंग जोडिने प्रवृति देखिएको दाबी गर्नुभयो । सो अवसरमा कार्यपत्र प्रस्तुत गर्दै पर्यवेक्षण समितिका सदस्य राजाराम वर्ताैलाले सत्ता जहिले पनि निरंकुश हुने र त्यसलाई रोक्ने भूमिका प्रतिपक्षको रहने भन्दै दुबै पक्षमा जनता सार्वभौम हुन भन्ने कर्तव्यवोध हुनुपर्ने जिकिर गर्नुभयो । सिद्धार्थ पब्लिकेशन प्रा.लि. एवं दैनिक लुम्बिनीका अध्यक्ष मोहन चापागाईंले संसदीय व्यवस्थामा प्रतिपक्ष कमजोर हुने प्रवृति पुरानै रहेको दाबी गर्दै प्रतिपक्षभन्दा सत्तापक्षका समूह नै प्रतिपक्षको भूमिकामा देखिदा सरकारले काम गर्न नसक्ने प्रवृत्ति मौलाउदै गएको बताउनुभयो । पर्यवेक्षण समितिका अध्यक्ष बद्रिप्रसाद सिलवालको अध्यक्षता, दैनिक लुम्बिनीका सम्पादक यानेन्द्र जिसीको स्वागत र यज्ञ अर्याललको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार