Devdaha Tv | बिचार/ब्लग
चैत्र १० | 2023 Mar 24

मलाई रोबोटको उपनाम दिनेछन्

5 days ago
मलाई-रोबोटको-उपनाम-दिनेछन्

मिना गैरे, चैत ४ । उसंग कुरा गर्दा लाग्थ्यो की मैले संसार पाएकी छु, संसार जितेकी छु । लाग्थ्यो सधैँ भरी उसको साथ हुनेछु अनि म नै संसारको सबैभन्दा माया पाउने प्रेमिका हुँ । जहाँ गएपनि जहाँ भएपनि उसँगै भएको आभास । उस् सम्झदा पनि आँसु झरिहाल्छ । कुनै पल उबाट टाढिन नचाहने मेरो मन मस्तिष्क आज भारी भएर दुखिरहेको छ । मुस्कुराउँदै गरेको स्टिकरबाट सुरु भएको वार्ता आज ब्लकलिस्टमा सीमित हुन पुगेको छ । 

१७ पुगेर १८ लाग्दै गरेको उमेर, गाउँमै पाएको सानो जागिर, कक्षा १२ को परीक्षा दिएर नयाँ नयाँ फेसबुक खोलेको म, अनि उ चाँही ११ को परीक्षा दिएको । फेसबुक अकाउन्ट खोलेको तिनचार दिनमा एउटा फ्रेन्ड रिक्वेस्ट आयो । कसले पठाएछ भनेर उसको प्रोफाईल खोलेर हेरे – हेर्दा उ अति नै मन पर्याे मलाई । कालो कालो वर्णको, मुसुक्क मुस्कुराएको उसको तस्बिर हेर्दा उ एकैपटकमा मेरो मनमा बस्यो । फेसबुकमा उसको रिक्वेस्ट एक्सेप्ट गरे । त्यसको केही दिनपछि वार्ता सुरु भयो; मुस्कुराएको स्टिकरबाट । सामान्य चिनजान पछि दिनहुँजस्तो कुरा हुन लाग्यो अनि बिस्तारै कुराहरु बढ्दै गए, कुराका सन्दर्भ बदलिए, विषय बदलिए अनि नाता पनि बदलियो । बिस्तारै हामी एकअर्कासँग नबोली बस्न नसक्ने भयौं । कुरा यस्ता कि अरु कसैलाई न सुनाउन सकिने न त व्याख्या नै गर्न सकिने, त्यति मिठा र समिपका कुरा ........ । आज त्यो पल सम्झदा पनि व्यर्थमै दुखिहाल्छ यो मन । 

घरमा नेट थिएन, थोरै भएपनि डाटा जोगिन्छ कि भनेर त्यही उसँगै बोल्ने चाहनामा अफिसमै अनलाईन काम गर्छु भनेर केही अबेलासम्म बस्ने गर्थे । एकपल उसको म्यासेज आएन या फोनमा कुरा भएन भने मेरो मन अतालिन्थ्यो, आज लाग्छ कि म आफैलाई बिर्सीएर उसमा हराउँदै थिए । म आफैलाई भुलि उसँगै जिन्दगीका नयाँ पान्नाहरु भर्न चाहान्थे, नयाँ कथाहरु लेख्न चाहान्थे । एकैछिन् कुरा नहुँदा हुने त्यो पीडा आज म हर समय भोगीराखेकी छु । प्रेम छ उसँग मलाई, म कसरी सक्छु र उसँग नबोली बस्न ? नाई सक्दिन र आज पनि म उसकै बोली सुन्न यसरी तड्पिएको छु कि जसरी म हप्तौदेखिको प्यासी र भोकी छु । 

पलपलमा उसकै याद अनि उसको त्यो मिठो आत्मियपन, सुरिलो आवाज अनि आफ्नोपनको आभास त्यसमा माया अनि ख्याल गर्ने बानी । तर सबै धेरै दिनसम्म रहेन, सायद पाहुना थियो । सम्झदा त मिठा लाग्छन् ति कुराहरु तर म आज आफूलाई कसरी सम्हालु? हिम्मत टुटेजस्तो, जिन्दगी नै फुटेजस्तो अनि दैवले सारा खुसी लुटेजस्तो लाग्ने गर्छ आजकल मलाई । जति कोसिस गरेपनि म हास्न सकेकी छैन् । कमेडी भिडियो हेर्दा पनि केटाकेटीहरु भाडाकुटी खेलेजस्तै लाग्छ । उफ् कसरी सम्हालु आफूलाई एउटा प्रेमीको यादमा किन म यसरी पागल भईरहेछु । मलाई थाहा छ, जसरी भएपनि भुल्नु छ मैले उसलाई । तर म एकपल त उसको बारेमा नसोची रहन सक्दिन अनि कसरी सकुला र भुल्न । मनले एउटा भन्छ दिमागले एउटा भन्छ । कुनै क्षण सोच्छु म भुलिदिन्छु उसलाई तर भन्नजस्तो कहाँ हुने रहेछ र । अनि कुनै पल उसका यादहरुसंगै म जीवन बिताउँछु भन्छु तर उसका यादहरु मेरो मनमा यसरी गड्छन कि म त्यो पीडा सह्न गर्न नै सक्दैन् ।  कुन क्षण हुन्छ र मैले उसलाई याद नगरेको । भन्न पो सक्दिन र कसैलाई तर हरपल याद गर्छु । भनौं भने कस्लाई पो भनौँ र खै, सबैले उसलाई भुलेर नयाँ जीन्दगीको सुरुआत गर भन्छन् तर जसरी अरुले शब्दहरुमा सजिलै तरिकाले मलाई उदाहरण दिन्छन्, म त्यस्को अनुसरण गर्न सक्दिन । हिजो एउटालाई प्रेम गरी संगसंगै बाच्ने मर्ने कसम खाएका मान्छेहरु एक दुई दिनमै अरुका अंगालोमा बेरिएर तिमी नै मेरो सब थोक हौँ, जिन्दगी हौ भनेको मैले नदेखेको पनि होईन तर म उ बाहेक कसैलाई आफ्नो बनाउँछु भनेर कल्पनामा पनि सोच्न सकिन । अनेक पाटाहरु छन् जिन्दगीमा गर्न तर ती पनि मैले उसलाई गर्ने प्रेमका अगाडी फिका लाग्छन् । न त अध्ययनमा ध्यान जान्छ न काममा ।

सायद, म मा नै केही कमी रह्यो होला जो उसको मनमा रहन सकिन् । हुन त उ मभन्दा एक बर्षले कान्छो तर मायामा उमेरले केही गर्दैन भन्ने मेरो सोच । अनि उ पनि मेरो कुरामा सहमति जनाउँथ्यो । प्राय जसो सबै बानी मिलेर पनि छुट्टिएका हामी । मेरो घर पाल्पा, अनि उसको पर्वत । जन्मथलो पर्वत भएपनि पेशाको शिलशिलामा बुटवल बस्दै आएको थियो उ । मिठाईको पसलमा जागिर गथ्र्याे, उसको ठूलोबुवाले खोजिदिनुभएको रे । मिठाई मलाई त्यसैपनि प्राणप्रिय, सानैदेखि मरीहत्ते गर्थे । उसलाई मैले, “मलाई चकलेट र मिठाई ल्याईदेउँ” भन्ने गर्थे । उ मेरो कुरा सुनेर हास्ने गथ्र्याे, अनि कहिलेकाहीँ केटाकेटीले पो हो त मिठाई खाने, हजुर केटाकेटी होईननी भन्ने गर्दथ्यो ।

अब हामी एकदिन भेट्ने सल्लाह गर्याै, म धेरै उत्सुक थिए उसलाई आफ्नो आँखा अगाडी देख्न । मेरो खुट्टा भुईमा थिएनन् । भेट हुने दिन पनि नजिक आउन लाग्यो । त्यो दिन म हाम्रो पाल्पाबाट बिहान ७ः३० बजेको बतासेको माईक्रोमा मेरी साथी मायासँग बुटवल आए । पाल्पा बुटवल सडकखण्ड पहिलेदेखि नै दयनिय हो । बुटवलको बसपार्क आउँदा १२ बज्यो । हामीले बुटवलका ठाउँ चिनेका थिएनौ, हामी दुवैजना पहिलोपटक त बुटवल आएका थियौ, त्यो पनि घरमा ढाटेर । बुटवलको घाम, खाना नखाएको पेट, टाउको दुखिरहेको थियो बेसरी । आफैले आफैलाई बिरामी भयौँ भन्दै माया र म एकअर्कालाई हेर्दै हास्यौ । अनि हामिलाई जानु थियो फूलबारी, तर कहाँबाट जाने बाटो हामी दुवैलाई थाहा थिएन्, न कहाँदेखि गाडी लाग्छ ।  

माया र म अल्मलियौ, एकपटक त हामी बाटो नचिनेर भैरहवा पुगेर फर्किर्याै । हामी फेरी बसपार्क गयौ । एउटै उपाय थियो, मैले गोविन्दलाई फोन गरे । उसले मलाई फूलबारी जाने बाटो बतायो । धेरै बेरको दौडधुपपछि अन्ततः माया र म फूलबारी पुग्यौ । फूलबारी पुगेपछि हाम्रो र उसको भेट भयो । त्यो दिन मैले मेरो प्रेम, मेरो गोविन्दलाई प्रत्यक्षरुपमा देखेको थिए । म यति खुशी थिएकी, बयान गर्नलाई मसँग कुनै शब्द नै छैन । पहिलो भेट अनि प्यारो मान्छे आफ्नो अगाडी देख्दा म यति खुशी थिए की म व्याख्या नै गर्न सक्दिन  । लाजले भुतुक्क भएर गोबिन्द र म बोल्नै सकेनौ, बस् एकअर्कालाई हेरेर मुस्कुराईरह्यौ । एकैछिन घुम्यौ, र हामी खाजा खान एउटा खाजा पसलमा गयौ । तिन जनाले एक÷एक हाप चाउमिन खायौ । भन्दिन भन्दा भन्दा पनि मुखबाट फुस्किहाल्यो, “घरमा ढाटेर आएको हामी ” उसले मलाई घरमा नभनी कहीँ पनि नहिड्न भन्यो, एकैछिन सम्झायो । म चुप लागेर उसको कुरा सुनिरहे, अनि मनमनै यही सोचिरहेकी थिए, “हजुरलाई भेट्ने रहरले त झुट बोलेर यहाँसम्म आए, नाई भने म कहाँ झुट बोल्ने मान्छे हुँ र” । मैले उस्लाई फेरी अबदेखी हिड्दिन भने अनि अबेला भईसकेको थियो । हामीलाई समयमै घर पुग्नुपर्ने थियो त्यसकारण हामी फर्कियौ । पहिलो भेटको त्यो रमणिय क्षण कहाँ म भूल्न सक्छु र । फेसबुकमा देखेभन्दा पनि गुणी थियो उ । मलाई राम्रोसँग याद छ, फर्किने बेला मायाले भनेको कुरा, “तिमीलाई यति धेरै खुशी त मैले कहिले पनि देखेको थिएन् ।” हुन पनि हो, त्यो दिनको खुशीका व्याख्या गर्न हर शब्द कम पर्नेछन्, म त्यती खुशी थिए । उसँगको त्यो भेट मलाई पत्तयाउनै मुस्किल भएको थियो । 

भेट त त्यसपश्चात पनि भयो तर त्यतिबेला उ पुरै बदलिसकेको थियो । सायद बदलाव नै प्रकृतिको नियती थियो । त्यही फूलबारीको अविस्मरणीय भेट नै उसँगको अन्तिम भेट हो । किनकी पछिल्ला भेटहरुमा उ बदलिसकेको थियो ।  

पहिलो भेट पछि झन नजिकिएका हामी यतिका महिना बित्दा एक शब्द पनि बोलेका छैनौ । केही समय पहिले उसले मलाई विदेश जान्छु भनेको थियो । “विदेश जानुभन्दा यही स्वदेशमै केही गर्नु राम्रो हुन्छ जान्छौ भने त म के भन्न सक्छु र । सकेसम्म यही केही गरौ ।” भन्दा  उसले मेरा कुरा सुनेर केही पनि नभनि फोन काटेको थियो । त्यसपछि पनि कहिले काही त कुराहरु भईरहेको थियो । 

बिस्तारै बिस्तारै उ हराउँन थाल्यो । दिनदिनै हुने कुरा हप्तामा पुगे अनि हप्ता त के महिनामा पनि कुरा हुन छाड्यो । आज यत्तिका दिन भए तर उ बोलेको नै छैन् । उ हराउँदै थियो त्यही बेलामा मैले गरेको फोन उठाएर उसले झर्किदै “तेरा नानाथरी कुरा सुन्नु छैन् मलाई, जतिबेला पनि नानाथरी कुरा गर्छेस्” भन्यो । झर्केको मात्र होईन उसले त्यही दिन मलाई पहिलोपटक त भनेको थियो । सायद केही पिर चिन्ताले होला भन्ने सोचे । मेरा फोन एसएमएसको कुनै रिप्लाई आउँन छाड्यो । म कसरी आफ्नो मन सम्हाले मलाई थाहा छैन । एकदिन मैले फोन गर्दा उसले भन्यो, “तैले मलाई डिस्टप गर्छेस, अबबाट तसँग कहिले पनि बोल्दिन म । ”वास्तवमै त्यस्तै भयो, उ साच्चिकै मसँग बोल्न छाड्यो, न आफूले मलाई बोलायो न मैले बोलाउदा नै बोल्यो । 

मैले केहीदिन अघि उसको दिदीलाई म्यासेज गरेर सोधे, गोविन्द खै?, “उसको त बिहे भयो, भागेर बिहे गरेको हो” दिदीले भन्नुभयो । यस्तो सुन्दा म छाँगाबाट खसेजस्तै भए, मुटु रोकिएजस्तै भयो र पुरा ज्यान नै चिसो भयो । मलाई विश्वास लागेन दिदीको कुरामा । म उसलाई फोन गरे तर फोन उठेन । अब त फोन हान्ने हिम्मत पनि छैन ममा । 

२ दिन अगाडि फेसबुकमा उसको नयाँ आईडी देखे प्रोफाईल खोलेर हेरे मैले राख्न भनेको फोटो नै प्रोफाईलमा राखेको रहेछ । प्रोफाईलमा त उसको सबै आफ्ना मात्र फोटा थिए । मेरो मन केही हल्का भयो र म्यासेज नगरी मेरो मनले मानेन् । तर म्यासेजको रिप्लाई आएन् । १५ मिनेटपछि हेरेको मलाई ब्लक हानिसकेको रहेछ । मेरा भ्रम अब बास्तविकता भईसकेका थिए । पहिले लाग्थ्यो सायद उ थोरै व्यस्त भएर हो तर उ त्यति धेरै व्यस्त पनि रहेनछ । मैले मेरी साथी दयालाई उसको प्रोफाईल हेर्न भने । दयाले मलाई अरु केही नभनि एउटै कुरा भनि तिमी अब मुभ अन होऊ । मैले उसलाई सबै कुरा सोधे तर उसको जवाफ केवल एउटै थियो । 

मलाई लाग्छ सायद उ मसँग बोल्न चाहदैन र आफ्नो जिन्दगीमा खुशी छ, अब मैले उसलाई कल एसएमएस गरेर डिस्टप गर्नुहुँदैन् । उसलाई नचाहेका मान्छेसँग नबोल्ने स्वतन्त्रता छ, मैले कसैको स्वतन्त्रता भंग गर्नुहुँदैन् । जसरी भएपनि सम्हाल्न छ मैले यो मनलाई अनि मेरा नानाथरी कुरालाई । अब मेरो मन जति दुखोस्, जति पीडा होस् मलाई, म उस्लाई फोन एसएमएस् गर्ने छैन् । भित्रभित्र जति जलन र पीडा भएपनिः म कसैलाई सुनाउने छैन् मेरो मनको अवस्था, पीर, व्यथा र चिच्याहट, हास्ने छु सबैको अगाडि यसरी कि जसरी केही भएको थिएन्, केही भएको छैन् । यसरी कि म यस्तो मान्छे हुँ, जसमा कुनै मानवीय बानीहरु छैनन्, यसरी कि जसरी म रुन भुले, हास्न भुले, केवल आफ्नो बारेमा मात्र सोचीरहे अनि स्वार्थी बने, केवल आफूलाई मात्र देखे, केवल आफूलाई मात्र गने अनि सधैँ केवल आफ्ना बारेमा मात्र सोचीरहे । हो म अब त्यस्तै बन्ने छु जसकारण मलाई उपनाम दिनेछन् यहाँका मान्छेहरु “उ त्यो त यन्त्रमानव (रोबोट) जस्ती छे, केही कुराले फरक पर्दैन उस्लाई” । हो मान्ने छैन यहाँ कसैको मनले मलाई रोबोटको उपनाम नदिई, किनकी मान्छेहरु अरुको नाम राख्न खप्पिस छन्, खुट्टा तान्न जागरुक छन्, गिराउन माहिर छन्, अरुको कुरा काट्न सीपालु छन्, अनि आफ्नो नजरमा यहाँ खराब पनि असल छन्, चोर पनि पुलिस र अपराधी पनि निर्दाेष छन् ।