फागुन २७। नेपाल कम्युनिष्ट पार्टीमाओवादी केन्द्रका केन्द्रिय उप महासचिव हरिबोल गजुरेलले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार र माओवादी पार्टी नयाँ शिराबाट अघि बढेको बताउनु भएको छ। शनिवार तिलोत्तामामा माओवादी केन्द्र रुपन्देहीद्वारा आयोजित पार्टी अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीका प्रमुख राजनैतिक सल्लाहकार समेत रहेका नेता गजुरेलले पार्टी र सरकार अध्यारोबाट उज्यालोतर्फ गएको बताउनु भएको हो ।
स्थायी गुटबन्दीले कम्युनिस्ट आन्दोलनलाई धरासायी बनाउने बताउदै नेता गजुरेलले बहस र छलफलबाट निकास निकाल्नुपर्ने उल्लेख गर्नु भयो । कम्युनिष्ट आन्दोलनले समाजवादको दिशा पहिल्याउन फरक किसिमले बहस संचालन गर्नुपर्ने उहाँको भनाई छ।
पार्टीका केन्द्रिय सचीव तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनालले जनयुद्धको उपलब्धिको रक्षा गर्न माओवादीहरु एकजुट हुनु पर्नेमा जोड दिनु भयो। सामन्त दलालहरुले सरकार संचालनमा प्रभाव पार्ने गरेको स्वीकार गर्दै नेता खनालले माओवादीले आफ्नो वर्गको संरक्षक गर्न नसकीएको बताउनु भयो । प्रशिक्षणमा केन्द्रीय सदस्य किस्मत बिकले माओवादीको एजेन्डामा मुलुक चलेको बताउदै मुलुकको समस्या समाधान गर्ने पनि माओवादी केन्द्र भएको दावी गर्नु भएको थियो।
रुपन्देहीका जिल्ला संयोजक नारायण जिसि निर्मलले पार्टीले जनता र कार्यकर्ताको मनोभावना बुझेर काम गर्नुपर्ने बताउंदै पार्टी निर्माणमा होमिन कार्यकर्तालाई निर्देशन दिएनु भएको छ । जिल्लाको भावी योजना पेस गर्दै संयोजक जिसीले रुपन्देहीमा पार्टीलाई मजबुद बनाउने प्रतिबद्धता ब्यक्त गर्नु भयो।
प्रशिक्षण बैठकमा रुपन्देही क्षेत्र नं. १ का इन्चार्ज लेखनाथ न्यौपाने, क्षेत्र नं. ३ का इन्चार्ज तिर बहादुर रोका डार्बिन,क्षेत्र नं. २ सह–इन्चार्ज दिपा बिक, क्षेत्र नं. ४ का सह–इन्चार्ज सन्त कुमार यादव, क्षेत्र नं. ५ का सहइन्चार्ज चन्द्र घर्ती लगायतले पार्टीको वर्तमान अवस्थाको रिपोर्टिङ राखेका थिए।
मणिग्राम बैठकसंगै माओवादी केन्द्र रुपन्देहीले दुई महिने पार्टी निर्माण तथा संगठन विस्तार अभियानको सुरुवात गरेको छ।