Devdaha Tv | स्थानीय
चैत्र १० | 2023 Mar 24

देवदह मेलामा पर्यटन गोष्ठी, पर्यटन विकासबाटै देवदहको समृद्धि सम्भव

1 month ago
देवदह-मेलामा-पर्यटन-गोष्ठी,-पर्यटन-विकासबाटै-देवदहको-समृद्धि-सम्भव

देवदह, फागुन ७ । देवदह क्षेत्रको पर्यटन विकासबाटै समृद्धि सम्भव रहेकोमा वक्ताहरूले जोड दिएका छन्। सातौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव–२०७९ द्वारा आयोजित देवदह क्षेत्रमा पर्यटन विकासका अवसर र योजना विषयक पर्यटन गोष्ठीमा बोल्ने वक्ताहरूले स्पष्ट योजना र त्यसको कार्यान्वयनसहित पर्यटन विकास गर्नसके समृद्धि सम्भव भएको बताएका हुन्।

आइतबार मेलास्थल देवदह मण्डपमा भएको गोष्ठीमा कार्यपत्र पेश गर्दै लुम्बिनी विकास कोषका पर्यटन विज्ञ हरिध्वज राईले देवदह क्षेत्र प्रचुर पर्यटकीय सम्भावना भएको क्षेत्र भएपनि नीतिगत र योजनागत रूपमा काम हुन नसक्दा अपेक्षित विकास हुन नसकेको धारणा व्यक्त गर्नु भयो । पर्यटकीय क्षेत्रको डिजाइनमा पर्यटकलाई लोभ्याउने शैली, पर्यटकले खर्च गर्ने वतावरण र पर्यटकको बसाई लम्ब्याउने गरि गर्नुपर्नेमा विज्ञ राईले जोड दिनु भएको थियो। 

पर्यटकीय क्षेत्रको ब्रान्डीङ्ग, सोहि अनुसारको सुरक्षा र हस्पिटालिटिको व्यवस्थापन र टुरिष्टको लागि विशेष प्याकेज समेतको व्यवस्था भए पर्यटकको संख्यामा वृद्धि हुने र उनीहरूले गर्ने खर्चबाट अर्थतन्त्रमा समेत योगदानसंगै विजनेश र रोजगारीका क्षेत्रहरू समेत खुल्ने राईको भनाई छ। 

एक अध्ययन अनुसार धर्ममा आस्था राख्नेहरूमध्ये ६७ प्रतिशत व्यक्तिहरू बच्चा जन्माउनका लागि आफुले मान्ने  भगवानसंग सम्बन्धित स्थानमा जान चाहने देखाएको उल्लेख गर्दै पर्यटन विज्ञ राईले लुम्बिनीमा सोहि अनुसारको प्रसुति अस्पतालको आवश्यकता रहेको बताउनु भयो।  त्यसैगरी ५२ प्रतिशत धार्मिक व्यक्तिहरू आफ्नो निवृत्त अर्थात् बृद्धावस्था आफ्नो धर्मसंग जोडिएका स्थानमा बिताउन चाहने तथ्यांक प्रस्तुत गर्दै उहाँले त्यसतर्फ समेत ध्यान दिनुपर्ने बताउनु भयो। 

गोष्ठीमा बोल्दै देवदह नगरपालिका प्रमुख धुर्ब प्रसाद खरेलले नगरपालिकाले पर्यटनको विकासमा काम गरिरहेको र अझै धेरै काम गर्न बाँकी रहेको बताउनु भयो । सरनबारी–माथागढ़ी पदमार्ग निर्माण लगायतका क्षेत्रमा पालिकाले ध्यान केन्द्रित गरेको उल्लेख गर्दै प्रमुख खरेलले पर्यटनको विकास बिना समृद्धि सम्भव नभएको धारणा व्यक्त गर्नुभयो । हिजोका दिनमा भएका कामलाई समेत निरन्तरता दिंदै थप योजनासहित नगरपालिकाले पर्यटन विकासको क्षेत्रमा काम गरेको उहाँको भनाई छ। 

कार्यक्रममा आफ्नो धारणा राख्न्दै लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले नगरपालिकाको पर्यटन समितिलाई कामकाजी बनाउने र त्यसको लागि आवश्यक ऎन निर्माणमा नगरपालिकाले ध्यान दिनुपर्ने ओल्याउनु भयो । लुम्बिनी विकास कोषले पालिकाहरूसंग सहकार्य गरेर काम गर्ने निर्णय गरेको उल्लेख गर्दै कोषाध्यक्ष भट्टराईले देवदह नगरपालिकासंग पनि साझेदारी गर्न विकास कोष तयार रहेको बताउनु भयो। देवदहका धेरै क्षेत्र उत्खनन हुन् बाँकी रहेको बताउंदै भट्टराईले यसैबर्ष खयरडांडाको उत्खनन गर्ने जानकारी दिनु भयो । 

कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका निवर्तमान नगर प्रमुख हिरा बहादुर खत्रीले देवदह क्षेत्रमा उत्खनन गर्न र उत्खनन गर्दा भेटिएका पुरातात्विक वस्तुहरूको संरक्षण र त्यसको तथ्यांक संकलन आवश्यक रहेको औल्याउनु भयो। पुरातत्व विभाग, लुम्बिनी विकास कोष र नगरपालिकाले आवश्यक समन्वय गरि काम गर्नुपर्नेमा उहाँले जोड दिनु भएको थियो। 

कार्यपत्रमा टिप्पणी गर्दै देवदह नगरपालिकाका पुर्व कार्यकारी अधिकृत गणेश घिमिरेले देवदह पर्यटकीय सम्भावनाको खानी भएको धारणा व्यक्त गर्दै भवानीपुर, बैरीमाई, कन्यामाई, देवदह, चरंगे लगायतका क्षेत्रमा प्रचुर पर्यटकीय सम्भावना रहेको विचार व्यक्त गर्नु भयो।  चरंगेमा फेवाताल जत्तिकै विशाल मानव निर्मित ताल निर्माण, भवानीपुरको गोल्डेन टेम्पलमा मायादेवीले बुद्धलाई काखमा लिएको लबिङ् बुद्धको मुर्ति, मेडिटेसनस्थल, धर्मचक्र स्तम्भ, रोहिणी नदि किनारमा देवदह शान्ति स्तुपा लगायतका पर्यटकीय सौन्दर्य थप्दै देवदहलाई मदिरामुक्त, यौनहिँसामुक्त र हिँसा निषेधित क्षेत्रको रूपमा विकसित गरिनुपर्ने उहाँको भनाइ छ। 

गोष्ठीमा लुम्बिनी प्रदेश पर्यटन विकास परिषद्का प्रमुख रामु जोशी, स्थानिय अगुवा प्रकाश अर्याल, स्वामी सोमराज, यम राना, भिम गुरुङ, लगायतले आफ्नो भनाई राखेका थिए । 

गोष्ठीमा महोत्सव मूल आयोजक समितिका संयोजक मेघराज ढकाल सहित आयोजकहरू, देवदह नगरपालिकाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, सामुदायिक बन, सहकारी तथा विभिन्न संघ संगठनका प्रमुख एवं प्रतिनिधीहरूको सहभागिता रहेको थियो । 

महोत्सवका पर्यटन समन्वय उपसमितिका संयोजक भरत तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहसंयोजक प्रमोद खरेलको स्वागत तथा सचिवालय संयोजक थालेश्वर लम्सालको संचालन रहेको थियो ।